अब घरै बसी–बसी आफूले खेती गर्न लागेको ठाउँको माटोबारे जान्न सक्नुहुन्छ। सरकारले एकै क्लिकमा सम्पूर्ण माटोको अवस्थाबारे जानकारी दिने वेबसाइट विकास गरेको छ। सरकारले हाम्रो भू-भाग सुहाउँदो माटोको विद्युतीय नक्सा (डिजिटल सोयल म्याप) पनि तयार गरी वेबसाइट बनाएको हो।

बालीनालीबाट राम्रो उत्पादन लिन माटोको गुणस्तर राम्रो हुनुपर्छ। गुणस्तरीय माटोमा बाली उत्पादन राम्रो हुन्छ। माटोको अम्लीयपन, उर्वराशक्ति, रसायन पदार्थको मात्रा, बनावट तथा गुण लगायत सम्पूर्ण जानकारी दिने उद्देश्यले डिजिटल नक्सांकन गरिएको नार्कका वरिष्ठ माटोविज्ञ डा. श्रीप्रसाद विष्टले जानकारी दिए।

विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने उनले बताए।

 

यस नक्साको आधारमा किसानले आफ्नो जग्गामा माटोको गुण कस्तो रहेछ, मल कति प्रयोग गर्ने, कस्तो बाली उपयुक्त हुन्छ, माटो कसरी सुधार्ने जस्ता आधारभूत जानकारी लिन सक्छन्,’ उनले भने।

यो जानकारी लिन इन्टरनेट पहुँच भने हुनपर्छ। गुगलमा ‘सोयल डट नार्क डट एनपी’ लाई अंग्रेजी अक्षरमा राखेर निर्देशनअनुसार माटो परीक्षण गर्न सकिन्छ। माटोको विद्युतीय नक्साको वेबसाइट बुधबार उद्घाटन गरिएको हो।

देशभरबाट २३ हजार २ सय ७३ नमूना जाँच गरेर त्यसको विश्लेषणका आधारमा सफ्टवेयर बनाइएको विष्टले जानकारी दिए।

‘माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको छ। अन्य ठाउँ पनि नमूना संकलन भइरहेको छ। बेला बेलामा अपडेट पनि गर्नुपर्छ,’ उनले भने, ‘माटोको अवस्था सधैं एकै रहन्छ भन्ने हुँदैन। त्यसलाई बेलाबला जाँचेर हामी अपग्रेड गरिरहन्छौं।’

डिजिटल नक्सा हेरेपछि माटोको अवस्था आवश्यक मल, कुन ठाउँमा पहिला मल पुर्‍याउनु पर्नेरहेछ जस्ता कुराको जानकारीबाट राज्यलाई नीति निर्माणमासमेत सहयोग पुग्ने विष्ट बताउँछन्, ‘यो नक्सा हेरेपछि माटोको अवस्था हेरेर कार्यक्रम बनाउन सकिन्छ।’

प्रविधि विकाससँगै कृषकले प्रयोगशालामा माटो ल्याएर आफ्नो माटोको अवस्था जान्न पर्ने समस्याको अन्त्य हुने उनले बताए।

‘पहिले सबै किसानको पहुँचमा प्रयोगशाला थिएन। कतिलाई थाहा पनि छैन। कति ठाउँका नमूना पनि लिन सकिँदैन थियो,’ उनी भन्छन्, ‘अहिले आफूलाई आवश्यकता पर्दा आफ्नो माटो अवस्थाबारे सहजै जान्न सकिने गरी नक्सा तयार गरेका छौं।’

 

कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अन्तर्राष्ट्रिय संस्था ‘सिमेट’को प्राविधिक सहयोग र युएसआइडीको आर्थिक सहयोगमा यो विद्युतीय नक्सा तयार पारिएको विष्टले बताए।

चार वर्षदेखि भइरहेको नक्सा निर्माण कामले अहिले पूर्णता पाएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *