नेपाल सरकारले भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको अक्सफर्ड-एस्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।

नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको कोभिड-१९ खोप उपलब्ध भएको “दुईदेखि तीन सातामा” खोप अभियान आरम्भ गर्न सकिने सरकारलाई सल्लाह दिइरहेको विज्ञ समितिका संयोजकले बताएका छन्।

प्राप्त हुने परिमाणका आधारमा पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत व्यक्तिलाई खोप दिइने र त्यसपछि प्राथमिकताका आधारमा खोप वितरण गरिने उनको भनाइ छ।

कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालनको तयारीका लागि मङ्गलवारदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ।

खोप सुरक्षित रूपमा राख्न सबै प्रदेश र केन्द्रमा एउटा गरी कुल आठवटा भण्डारण केन्द्र निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।

सरकारी खोप अभियानअन्तर्गत अहिले देशभरि खोप लगाइदिने सीप भएका झन्डै आठ हजार जनाको जनशक्ति रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतम बताउँछन्।

आपत्कालीन प्रयोगको अनुमति भनेको के हो?

कुनै पनि अन्य विकल्पहरू नरहेको अवस्थामा जनस्वास्थ्य सङ्कटलाई ध्यान दिएर परीक्षणमै रहेका औषधि वा खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिने गरिन्छ।

नेपालमा विगतमा यससम्बन्धी कानुनी व्यवस्था नभएको भए पनि सरकारले अध्यादेशमार्फत् कानुनमा संशोधन गरी खोप ल्याउन सकिने व्यवस्था गत नोभेम्बर महिनामा मिलाएको थियो।

औषधि (तेस्रो संशोधन) अध्यादेशले विश्व स्वास्थ्य सङ्गठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपत्कालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा ल्याउन बाटो खोलेको थियो।

उक्त प्रावधानलाई टेकेर गएको शुक्रवार सरकारले अक्सफर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा उत्पादन भइरहेको कोभिशील्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार प्रारम्भिक र अन्तरिम प्रतिवेदनहरूले तुलनात्मक रूपमा खोप सुरक्षित एवं प्रभावकारी रहेको निष्कर्षसहित त्यस्तो अनुमति दिइएको हो।

विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती लाभ र सम्भावित हानि दुवैलाई ध्यान दिएर मानिसको ज्यान जोगाउन महामारीको समयमा आपत्कालीन प्रयोगको अनुमति दिने अभ्यास रहेको बताउँछन्।

अहिलेसम्म १८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोभिशील्ड खोप नदिइएको हुनाले नेपालमा पनि त्यसै गरिने डा. उप्रेतीले जानकारी दिए।

त्यसबाहेक गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूलाई उक्त खोपको प्रभावकारिताबारे भइरहेका वैज्ञानिक अध्ययनहरूको थप निष्कर्ष नआएसम्म खोप नदिइने उनको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिलेसम्म एमआरएनए विधिअन्तर्गत विकास गरिएको फाइजर-बायोएन्टेकको खोपलाई मात्रै आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ।

विश्व स्वास्थ्य सङ्गठन के भन्छ?

उसले आपत्कालीन प्रयोगको अनुमति पाउने खोपको सूची बनाउने उल्लेख गर्दै त्यसका लागि दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणको सूक्ष्म मूल्याङ्कन गरिने र स्वतन्त्र विज्ञ र डब्ल्यूएचओका टोलीहरूले खोपको प्रयोगको अनुगमन र थप अध्ययनलाई ध्यान दिने उल्लेख गरिएको छ।

डब्ल्यूएचको वेबसाइटका अनुसार कुनै पनि खोपले आपत्कालीन प्रयोगको अनुमति पाएपछि उक्त सङ्गठनले उसको सञ्जाल र साझेदारमार्फत् राष्ट्रिय स्वास्थ्य निकायहरूलाई खोप र त्यसको पछिल्लो अध्ययनले देखाएका सम्भावित लाभबारे जानकारी गराउने गर्छ।

त्यसरी सूचीकृत खोपले परीक्षणहरूबाट प्राप्त थप तथ्याङ्क दिनुका साथै गुणस्तर, सुरक्षा र बृहत् रूपमा उपलब्ध गराउने चाहना देखाए आफूबाट पूर्ण अनुमति र पूर्वस्वीकृति प्राप्त गर्न सक्ने उसको भनाइ छ।

त्यसबाहेक खोपको आपत्कालीन प्रयोगलाई लिएर देशहरूले आफ्नै नियमहरू बनाउने गरेका डब्ल्यूएचओको वेबसाइटमा उल्लेख गरिएको छ।

नेपालले कोभिशील्ड खोपलाई सर्तसहित दुई वर्षका लागि अनुमति दिएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन्।

“पछि स्थिति साधारण बन्यो भने नियमित दर्ता प्रक्रियाबाट जानुपर्छ। अहिलेलाई चाहिँ सम्बन्धित देशहरूले नै त्यसलाई स्थगन गरे वा बन्द गरिदिए भने हाम्रोमा पनि बन्द गर्नुपर्ने प्रावधान छ।”

खोप प्रभावकारिताको निगरानी गर्ने र त्यसले देखाउन सक्ने नकारात्मक असरलाई सम्बोधन गर्ने पक्षलाई पनि सर्तले सम्बोधन गर्ने उनको भनाइ छ।

कुनकुन खोपले नेपालमा प्रयोगको अनुमति खोजेका छन्?

औषधि व्यवस्था विभागमा भारत बायोटेक र चीनको साइनोफार्मले विकास गरेका खोपको आपत्कालीन प्रयोगको अनुमति दिन माग गर्दै निवेदन परेका थिए।

ती दुवै खोपले आआफ्ना मुलुकमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेका छन्।

तर वैज्ञानिक अध्ययनसम्बन्धी आवश्यक कागजपत्र प्रस्तुत गर्न नसकेको भन्दै विभागले अनुमति दिएन।

केसीका अनुसार प्रारम्भिक परीक्षणका नतिजाहरू, सम्बन्धित देशमा भएका परीक्षणका विवरण सहितका कागजपत्र पेस गर्न पत्राचार गरिएको छ।

दक्षिण एशियामा कुन खोपले अनुमति पाएका छन्?

कोभिशील्डबाहेक भारत बायोटेक नामक स्वदेशी कम्पनीले विकास गरेको कोभ्याक्सीन नामक खोपलाई पनि भारत सरकार आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

पाकिस्तान र बाङ्ग्लादेशले अक्सफर्ड-एस्ट्राजेनेकाको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएका छन्।

ज्यानुअरी महिनाको सुरुमा भएको आफ्नो श्रीलङ्का भ्रमणमा भारतीय विदेशमन्त्री एस जयशङ्करले श्रीलंङ्कालाई कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउनु भारतको प्राथमिकता हुने बताएका थिए।

भुटानले अक्सफर्ड-एस्ट्राजेनेकाको १० लाख मात्रा खोप आफूलाई उपलब्ध गराउन सहयोग गर्न भारतलाई अनुरोध गरेको छ।

चीनले आसीयानसँग आबद्ध कैयौँ देशहरूलाई आफ्नो देशमा विकास भएको खोप उपलब्ध गराउने विवरण आएका छन्।

नेपालले कहाँबाट खोप ल्याउँदैछ?

अहिलेसम्म नेपालको प्रयास भारतबाट अक्सफोर्ड-एस्ट्राजेनेका खोप भित्र्याउनेमै छ।

नेपालले देशको कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् ६० लाख जनालाई पुग्नेगरी खोप किन्ने इच्छा व्यक्त गरेको छ। त्यसका नेपाली पक्षले सहयोगको अपेक्षा गर्दै भारत सरकारलाई औपचारिक अनुरोध गरिसकेको छ।

गत साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँ दिल्ली जाँदा खोपको विषयमा पनि चर्चा भएको बताइन्छ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार भारतले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ तर कुन परिमाणमा खोप प्राप्त हुन्छ प्रष्ट भइसकेको छैन।

भारतीय सञ्चारमाध्यमहरूले पहिलो खेपमा नयाँ दिल्लीबाट खोप प्राप्त गर्ने देशमध्ये नेपालमा पनि समाविष्ट भएको विवरणहरू प्रकाशित गरेका छन्।

भारत सरकारले खोप उपलब्ध भएपछि नेपाल प्राथमिकतामा पर्ने गएको नोभेम्बर महिनामा सार्वजनिक रूपमै बताएको थियो।

परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी एस जयशङ्करको भेटवार्तामा कोभिड-१९ को महामारी नियन्त्रणका लागि दुई देशबीचको सहकार्यको विषय पनि उठेको अधिकारीहरूको भनाइ छ।

गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतबाट अरू देशमा खोप पठाउने विषयमा निर्णय हुन केही साता लाग्न सक्ने बताएका थिए।

नेपालले कोभ्याक्स भनिने कोभिड-१९ विरुद्धको खोपबारेको विश्वव्यापी गठबन्धनबाट पनि देशको जनसङ्ख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने भनिएको छ।

तर त्यसबाट सन् २०२१ को दोस्रो चौमासिकमा मात्रै खोप प्राप्त हुनसक्ने जानकारी आफूहरूले पाएको डा. उप्रेती बताउँछन्।

चीन र रूसमा विकास भएका भनिएका खोपको प्रभावकारिताबारे अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठिरहेका छन्।

तिनलाई नेपालमा ल्याउने विषयमा सरकारले केही भनिसकेको छैन।

खोप अभियानका लागि कस्तो तयारी?

खोप अभियान सञ्चालनको लागि कुन समयमा कसले खोप प्राप्त गर्ने विवरण समेटिएको सेवाग्राहीको सूची तयार भइरहेको खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए।

उनले कहाँ खोप दिने भनेर सरकारले स्थान तोक्ने पनि बताए।

विद्यमान स्वास्थ्य प्रणालीमा खोप लगाइदिने दक्ष जनशक्तिको सङ्ख्या ८,००० रहेको र आवश्यकताअनुसार जनशक्ति भर्ना गर्न सकिने सरकारी भनाइ छ।

अभियानकै रूपमा कोभिड-१९ विरुद्ध खोप दिइने भन्दै खोपविज्ञ उप्रेतीले सुरुमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत अन्य व्यक्तिलाई खोप दिइने बताए।

उनी भन्छन्, “थोरै खोप पायौँ भने हामी स्वास्थ्यकर्मीलाई मात्रै दिन्छौँ। अलि बढी पायौँ भने हामी महिला स्वयंसेवी र सुरक्षाकर्मीमा जान्छौँ,” उनी भन्छन्।

“अझ बढ्यो भने हामी ७५ वर्षभन्दा माथिका वृद्धमा जान्छौँ। अझ धेरै आयो भने ५५ वर्षभन्दा माथिकोमा जान्छौँ। त्यही भएर कति खोप आउँछ त्यसको आधारमा हामी निर्णय गर्छौँ।”

Leave a comment

Your email address will not be published. Required fields are marked *