कोरोनाभाइरसको नयाँ प्रकार द्रुत गतिमा फैलिएका कारण यूकेको इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु गरिएको छ भने अन्य देशले यूकेबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।

पहिला अस्तित्वमा नै नभएको कोरोनभाइरसको नयाँ प्रकार केही महिनाभित्रै कसरी यसरी फैलिन पुग्यो त? ब्रिटिश सरकारका परामर्शदाताहरूको विचारमा भाइरसको नयाँ प्रकार अन्यको दाँजोमा छिटो सङ्क्रमण हुने गुण भएको हुनुपर्छ।

यो विषयमा सबै जानकारी प्रारम्भिक नै छन् र अनुत्तरित प्रश्नहरू पनि धेरै नै छन्।

यसका मुख्य तीन कारण छन्:

• भाइरसको यो प्रकारले अन्य प्रकारलाई तीव्र गतिले प्रतिस्थापन गर्दैछ।

• यो नयाँ प्रकारमा देखिएको उत्परिवर्तन कोरोनाभाइरसको महत्त्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने खालको छ।

• त्यस्ता केही उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको हुने गरेको प्रयोगशालामा गरिएका परीक्षणले देखाएका छन्।

यी सबै कुराले भाइरसको यो प्रकार सजिलै फैलनसक्ने खालको भएको देखाउँछ।तर यो विषयमा निश्चित जवाफहरू भने छैनन्।

यसलाई पहिलो पटक सेप्टेम्बर महिनामा फेला पारिएको थियो। नोभेम्बरसम्ममा लन्डनमा देखिएका एक चौथाइ जति सङ्क्रमण भाइरसको यो प्रकारबाट भएको थियो।

मध्य डिसेम्बरसम्म आइपुग्दा यो अब झन्डै दुइ तिहाइ सङ्क्रमितमा देखिएको छ।

कोरोनाभाइरसको यो प्रकार यूकेमा नै कुनै बिरामीमा पहिलो पटक देखापरेको वा कोरोनाभाइरसको उत्परिवर्तनको अनुगमन गर्ने क्षमता कमजोर रहेको अन्य कुनै देशबाट यूकेमा छिरेको हुनुपर्छ।

तर यो उत्तरी आयरल्यान्डबाहेक यूकेभरि नै देखापरेको छ। तर यो लन्डन, दक्षिण-पूर्व र पूर्वी इङ्गल्यान्डमा सघन रूपमा देखा परेको छ।

संसारभरीबाट प्राप्त कोरोनाभाइरसको ‘जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ‘नेक्स्टस्ट्रेन’ ले जनाए अनुसार डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोनाभाइरसको नयाँ प्रकारको उद्गम यूके नै रहेको छ। नेदरल्याण्ड्सले पनि आफूकहाँ भाइरसको नयाँ प्रकार फेला परेको जनाएको छ।

कोरोनाभाइरसको यो प्रकारसँग मिल्दोजुल्दो अर्को प्रकार दक्षिण अफ्रिकामा पनि फेलापरेको छ। तर यी दुईबीच कुनै सम्बन्ध भएजस्तो देखिँदैन।

के यस्तो पहिले पनि भएको थियो?

थियो। चीनको वुहानमा सबैभन्दा पहिला जुन कोरोनाभाइरस पत्ता लगाइएको थियो संसारका अरू देशमा सङ्क्रमण फैलाइरहेको कोरोनाभाइरससँग त्यो दुरूस्तै मिल्दैन।

D614G उत्परिवर्तन भनिएको भाइरसको प्रका फेब्रुअरी महिनामा यूरोपमा देखा परेको थियो र यो संसारभरी सबैभन्दा देशमा सङ्क्रमण देखिएको प्रकार बन्न पुगेको थियो।

अर्को A222V भनिने प्रकार यूरोपभरी फैलिएको थियो र त्यसको सम्बन्ध स्पेनमा देखिएको सङ्क्रमणसँग थियो।

यसको अर्थ कोरोनाभाइरसको सङ्क्रमण अझ घातक बन्न पुग्छ त?

त्यस्तो हुने कुनै प्रमाण हालसम्म देखिएको छैन। तर यो विषयमा अनुगमन भइरहन जरुरी छ।

तर सङ्क्रमण दर उच्च हुनु नै पनि अस्पतालहरूका लागि समेत ठूलो समस्याको विषय हुन जान्छ। किनकि नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिसहरू प्रभावित हुन पुग्छन् र सँगसँगै अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने बिरामीहरूको सङ्ख्या पनि तीव्र गतिमा बढ्न पुग्छ।

कोरोनाभाइसको नयाँ प्रकारमा हालका खोपले काम गर्छन् त?

निश्चय नै हाल अनुमोदन भएका र विकसित खोपहरू कोरोनाभाइसको नयाँ प्रकारमाथि पनि प्रभावकारी हुन्छन्। कम्तीमा हालका निम्ति यकिन साथ यसो भन्न सकिन्छ।

हालको कोरोनाभाइरस विरुद्ध तीनवटा अग्रणी खोपहरूले शरिरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सक्छन्।

खोपहरूले शरिरको रोग प्रतिरोधी क्षमतालाई भाइरसका विभिन्न अंगहरूमा आक्रमण गर्न प्रशिक्षित तुल्याउँछन् त्यसैले भाइरसका केही अंशमा उत्परिपर्वतन देखिएपनि खोपहरू प्रभावकारी रहन्छन्।

तर भाइरसमा धेरै प्रकारो उत्परिवर्तन थपिन गयो भने त्यो चिन्ता गर्नुपर्ने विषय हुन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका एकजना प्राध्यापक रवि गुप्ता बताउँछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *