काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सर्वोच्च शिखरको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

नेपाल र चीनले मंगलबार संयुक्तरुपमा भर्चुअल कार्यक्रममार्फत नयाँ उचाइ घोषणा गरेका हुन् । यो घोषणापछि साढे ६ दशकदेखि सर्वाधिक प्रयोग हुँदै आएको अंक ‘८८४८ मिटर’ अब इतिहास भएको छ ।

एकाएक सगरमाथाको उचाइ नाप्ने सोच कसरी आयो त ? यो प्रश्नको उत्तर खोज्दा २०७२ को विनासकारी भूकम्पको सेरोफेरोमा पुगिन्छ ।

करिब नौ हजारको ज्यान लिएको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पको केही हप्तापछि नापी विभागले काठमाडौं उपत्यका करिब डेढ मिटर दक्षिण सरेको तथ्य सार्वजनिक गर्‍यो । नगरकोट, स्वयम्भु, फुलचौकी, बुङ्गमती र नुवाकोटको कुमारीलाई नियन्त्रण विन्दु बनाई मापन गरेको थियो ।

नगरकोटको नियन्त्रण बिन्दु १.८२ मिटर दक्षिण पश्चिम सरेको र १.१५ मिटर उचाइ बढेको विभागले घोषणा गर्‍यो । यतिबेलासम्म सगरमाथाको उचाइ घटबढ भएको हल्ला व्यापक भइसकेको थियो ।

ठ्याक्कै त्यति नै बेला आफ्नो सर्वे अफ इन्डियाको २५० औं वाषिर्क उत्सवको अवसरमा त्यहाँका सर्वेयर जनरलले सगरमाथाको उचाइ नाप्ने घोषणा गरे । सन् १९५४ सर्वे अफ इन्डियाले नापेको उचाइ ८८४८ मिटरले मान्यता पाएकाले सर्वेयर जनरलले ‘फेरि’ मापन गर्ने भनेका थिए ।

त्यसपछि फेरि नेपाल सरकारको अनुमति नलिई कसरी भारतले सगरमाथाको उचाइ नाप्न लाग्यो भन्ने बहस हुन थाल्यो । १३ चैत २०७३ मा नापी विभागको कार्यभार सम्हाल्ने क्रममा नवनियुक्त महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथा मापन गर्न नेपाल आफैं सक्षम रहेको घोषणा गरे ।

भट्टको अध्यक्षतामा १२ सदस्यीय समिति बन्यो । जसमा सुरेशमान श्रेष्ठ, निरज मानन्धर, मोहम्मद साविर हुसेन, पुन्यविक्रम पौडेल, शिवहरि कोइराला, प्रविणमान प्रधान, अनिल मरासिनी, दामोदर ढकाल, निर्मलकुमार आचार्य, ऋषिराम श्रेष्ठ सदस्य तथा सुशील डंगोल सदस्य सचिव थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा सगरमाथाको उचाइ मापनका लागि सरकारले दुई करोड रुपैयाँ विनीयोजन गर्‍यो । त्यसपछि औपचारिकरुपमा कार्यक्रम अगाडि बढाउन सजिलो भएको तत्कालीन महानिर्देशक भट्ट बताउँछन् ।

‘त्यसपछि हामीले विगतमा सगरमाथा नापेका सबैलाई बोलाएर सम्मेलन गर्‍यौं’ भट्ट भन्छन्, ‘पहिलोपटक आफैंले नाप्न लागेकाले हाम्रो विधि भरपर्दो छ भनेर देखाउनुपर्ने थियो ।’

७३ सेन्टिमिटर कि ८६ ?

दुवै देशले मंगलबार संयुक्तरुपमा सगरमाथाको उचाईको औपचारिक घोषणा गरेर ८८४८.८६ मिटर कायम भएको छ । सगरमाथाको उचाईबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

त्यसअघि नेपाल र चीनबीचमा ४ मिटरको विवाद थियो । दुई मुलुकको वीचमा हिउँसहितको उचाई मान्ने कि चट्टानको उचाईलाई आधार बनाउने भन्ने विषयमा सन् २००५ देखि विवाद थियो । सहमतिअनुसार हिउँको तहलाई आधार मानेर उचाई निर्धारण गर्न चीन तयार भएको हो ।

उता चीनले भने विभिन्न समयमा सगरमाथाको उचाई मापन गर्दै आएको छ । अगाडि सन् १९७५ मा चिनियाँ नापी विभागले सगरमाथाको उचाई ८८४८.१३ मिटर रहेको घोषणा गरेको थियो । त्यसलाई आधार मान्ने हो भने अहिले ८६ नभई ७३ सेन्टिमिटर बढेको देखिन्छ ।

त्यसपछि सन् २००५ चिनियाँ सरकारले आफ्नोतर्फबाट उचाइ घोषणा गर्दै सगरमाथाको उचाई समुन्द्री सतहबाट ८,८४४.४३ मिटर रहेको घोषणा गरेको थियो । यी दुवै उचाई मापन गर्दा चट्टानलाई आधार बनाइएको थियो तर त्यसमा नेपाल सरकारले असहमति जनाउँदै आएको थियो ।

पहिलोपटक आफ्नै पहलमा नापियो

सगरमाथा मापनका लागि भारत, चीन लगायतका मुलुकहरुले सहयोगको प्रस्ताव गरेका थिए । तर, नेपालले भने कसैको पनि सहयोग  नलिई आफैंले मापन गर्ने निर्णय गर्‍यो । विश्वको सर्वाेच्च शिखर आफ्नै भुभागमा पर्ने भए पनि नेपाल आफैले भने मापन गर्ने अवसर यसअघि पाएको थिएन ।

पछिल्लो समयमा नापी विभागले आफ्नै स्रोत, साधन र प्रविधिको प्रयोग गरेर सगरमाथाको उचाइ तय गरेको छ । सगरमाथा मापनमा सुरूदेखि नै संलग्न नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठ सर्वोच्च शिखरको उचाइ मापन राष्ट्रिय स्वाभिमानसँग पनि जोडिएको बताउँछन् ।

‘नयाँ उचाइ ऐतिहासिक उपलब्धी त हुँदै हो, त्यससँगै हाम्रै जनशक्ति सर्वेक्षणदेखि तथ्यांक प्रशोधन गरेर अन्तिम नतिजा दिन सफल रहेछ भन्ने प्रमाणित भएको छ’ पूर्वउपमहानिर्देशक श्रेष्ठ भन्छन् ।

संयुक्त मापन र घोषणा 

सगरमाथाको उचाइका सम्बन्धमा कुनै द्विविधा र भ्रम बाँकी छैन र यसको आधिकारिकताको पनि पुष्टि गरेको छ । नेपाल र चीनले आआफ्नै ढंगले मापन गर्दा पनि एकैखालको उचाइ आएपछि यसको विश्वसनीयता झन बढ्ने विश्लेषकहरुको धारणा छ । सगरमाथाको उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्छ ।

गत वर्षको अक्टोबर महिनामा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको समयमा सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो सहमतिलगत्तै चिनियाँ पक्षले सगरमाथाको पुनः मापन गरेको थियो ।

उचाइ घोषणा कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भने, ‘नयाँ उचाइ प्रामाणिक होस्, प्रश्न उठ्ने अवस्था नआओस् भन्नका लागि हामीले संयुक्तरुपमा उचाई घोषणा गर्ने सहमति कायम गरेका थियांै ।’

सर्वोच्च चुचुरोमा दुई घण्टा

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । तर, चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल गरेको विभागले जनाएको छ ।

नेपाली टोली सगरमाथाको चुचुरोमा भने ८ जेठ २०७६ राति ३ बजे पुगेको थियो । त्यसदिन प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा रविन कार्की र छिरिङजाङ्बु शेर्पा दुईजना सहयोगी शेर्पाहरू सर्वोच्च शिखरको चुचुरोमा पुगेका थिए ।

‘मापन कार्यको सबैभन्दा चुनौतीपूर्ण काम गर्न सर्वोच्च शिखरको चुचुरोमा हामीले दुईघण्टा बितायौं’ प्रमुख नापी अधिकृत गौतम भन्छन्, ‘मेरा लागि नयाँ उचाइ घोषणा भएको २३ मंसिर र ८ जेठ २०७६ दुबै उत्तिकै महत्वपूर्ण छ ।’

उचाइमा विभिन्न तरिकाले संलग्न १२० जनालाई सरकारले मंगलबार सम्मान गर्‍यो । दोस्रोपटक सगरमाथा शिखर चुमेका गौतम भन्छन्, ‘यसलाई व्यक्तिगत सफलता नभनी दिनुहोला, यो सामूहिक प्रयासबाट सम्भव भएको हो, वास्तवमा सम्पूर्ण नेपालीको सफलता हो ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *