काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ। काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टीजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए।

यस्तै एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भने,‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने भनेर निर्णय गरेका छौं र हरेक नगरपालिकाले एन्टीजेन टेष्ट गर्ने, त्यसपछि नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ।’

यस्तै सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिका भित्र कम्तिमा एकएकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरको छ।

यस्तै विद्यालयहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउने देखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालय मार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताएका छन्।

स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन्।

कोभिड–१९ का संक्रमितहरुको केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था स्थानीय तहमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ।

चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियान अन्तर्गत २०७७ चैत्र २५ देखि १८ वर्ष उमेर देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ्ग, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरु र काठमाडौं जिल्ला भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायहरुले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै सोमबारदेखि नै लागू हुनेगरी नेपाल प्रहरीले ठाउँठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

उनले काठमाडौंमा संक्रमणदर बढ्न नदिने र सचेतना अपनाउने उद्देश्य राखिएको पनि बताएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *