बलात्कारसँग सम्बन्धित घटना दैनिक औसत छवटासम्म हुने गरेका छन् । प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा दुई हजार १४४ वटा बलात्कार अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

तीमध्ये १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या हुने गरेको सो विभागले जनाएको छ । तीन वर्षीया बालिकादेखि ७० वर्ष उमेरका वृद्धासम्म बलात्कारको सिकार भएको पाइएको छ । बलात्कारसम्बन्धी घटनाका पीडितमध्ये १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत छन् ।

यस्ता घटनामा परिचित व्यक्तिकै संलग्नता बढी हुने भएकाले ९० प्रतिशत बलात्कार घटनाको अनुसन्धानमा सफलता मिल्ने गरेको दाबी प्रहरीको छ । गत आर्थिक वर्षमा प्रदेश १ मा ४८५, लुम्बिनीमा ३४८, प्रदेश २ मा २८८, काठमाडौँ उपत्यकामा २६६, बागमतीमा २५६, गण्डकीमा १६१, कर्णालीमा १३९ वटा र सुदूरपश्चिममा दुई सय बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

त्यस्तै बलात्कारको प्रयासअन्तर्गत ६८७, बालयौन दुराचारमा २३२, अप्राकृतिक यौनसम्बन्ध २७, भ्रूण हत्या २९, अश्लीलता प्रदर्शनमा ७३४ र अन्य विविध गरी एक लाख ५७ हजार १९ वटा उजुरी दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । – श्रोत गोरखापत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *