नेपाली काङ्ग्रेसका नेता एवं विराटनगर उपमहानगरका पूर्व मेयर तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधन भएको छ ।
मङ्गलबार राति घरमै अचानक बेहोश हुनु भएका ७८ वर्षीय कोइरालाको विराटनगरको न्यूरो अस्पतालमा बिहीबार बिहान निधन भएको हो ।
अस्पतालले न्यूमोनिया र सामान्य स्ट्रोक भएको परिवारलाई जानकारी दिइएको थियो । नेपाली काङ्ग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला अशोक कोइरालाका सहोदर दाजु हुनुहुन्थ्यो । कोइरालाका १ छोरा र १ छोरी हुनुहुन्छ ।
२०४४ देखि २०६३ सालसम्म लगातार २० वर्ष नेपाली काङ्ग्रेस मोरङको सभापति हुनु भएका कोइराला २०४९ को स्थानीय निर्वाचनबाट विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित हुनु भएको थियो । यसपछि राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि बन्नुभयो ।
विद्यार्थी कालदेखि नै नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय कोइराला पञ्चायत कालमा दर्जनौँ पटक पक्राउ पर्नु भएको थियो । करिब ५ वर्ष उहाँले जेल जीवन समेत बिताउनु भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा ‘कू’ गरेपछि प्रहरीले सबैभन्दा पहिले विराटनगरमा कोइरालालाई नै पक्राउ गरेको थियो । नेपाली काङ्ग्रेसका पूर्व सभापति बद्रीनारायण बस्नेतका अनुसार आन्दोलन र परिवर्तनका नेतृत्वकर्ता कोइरालाको निधनबाट पार्टी र समाजले एक होनहार र अथक योद्धा गुमाएको बताउनुभयो ।
कोइरालाको दाह संस्कारका लागि दिउँसो १ बजे मधुमारास्थित निवासबाट शवयात्रा निकालिने मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बूले जानकारी दिनुभयो । अन्तिम श्रद्धाञ्जलीका लागि पोखरियास्थित जिल्ला पार्टी कार्यालयमा २ घण्टा राखेर स्थानीय हाटखोलास्थित सिङ्गिया घाटमा अन्तिम संस्कार गरिने सभापति लिम्बूले जानकारी दिनुभयो । कोइरालाको शवयात्रामा सहभागी हुन नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजाल, डाक्टर शेखर कोइराला, डाक्टर डिला सङ्ग्रौला लगायतका नेता विराटनगर आउनुहुने बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *