Credit: बीबीसी

प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा पुग्दा सुदूरपश्चिमको दार्चुला जिल्लामा अहिले खुसी मनाइरहेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्ल्यूएफ) ले बुधवार जारी गरेको खेलाडीहरूको वरीयतामा उनी जुनियर एकल खेलाडीतर्फ (१९ वर्षमुनि ) शीर्ष स्थानमा पुगेका हुन्।

१८ वर्षीय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले नेपाली खेलकुदमा एउटा सुनौलो इतिहास कोरिसकेका छन्। नेपालका कुनै पनि खेलका खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो अवसर हो।

कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण दुई वर्षको बीचमा विश्व ब्याडमिन्टनका थुप्रै प्रतियोगिताहरू स्थगित वा रद्द हुनुका साथै उनीभन्दा माथिल्लो वरीयताका दुई खेलाडीको उमेर बढी भएपछि प्रिन्सले स्वाभाविक रूपमा शीर्ष वरीयता पाएका हुन्।

काठमाण्डूमा मामा र दिदीसँग बसेर पढाइ थालेका प्रिन्सले जब ब्याडमिन्टनमा राम्रो गर्न थाले, उनको परिवारले होस्टेमा हैँसे गर्‍यो।

सन् २०१७ मा भएको कृष्णमोहन ब्याडमिन्टन प्रतियोगिताको ‘उत्कृष्ट ४’ भित्र परेपछि प्रिन्स पहिलो पटक धेरैका आँखामा परेका हुन्।

जुनियर प्रतियोगिताहरू जित्नुका साथै सिनियर खेलाडीहरूलाई टक्कर दिन थालेपछि परिवारलाई लाग्यो – अब प्रिन्सलाई राम्रो प्रशिक्षण चाहिन्छ।

भेट्रान्स ब्याडमिन्टन खेल्ने रमेश शेर्पा उनको खेल देखेर निकै प्रभावित भएका थिए।

“यो केटोले केही गर्न सक्छ है” भन्ने सोच्दै उनले आफ्नो कम्पनी सिल्क ग्रूपबाट प्रशिक्षणका लागि ५० प्रतिशत रकम प्रायोजन गरेपछि प्रिन्सले ब्याङ्ककमा प्रशिक्षण लिने अवसर पाए।

यसपछि उनको खेलमा व्यापक सुधार भएको देखिएको बताइन्छ।

परिणामस्वरूप उनले सन् २०१८ मा दुबई जुनियर इन्टरन्याश्नल सिरीजको यू-१५ विधामा स्वर्ण जिते।

यो उपाधिसँगै प्रिन्स अन्तर्राष्ट्रिय ब्याडमिन्टन संसारमा सबैको दृष्टिमा परेका हुन्। त्यतिबेला ब्याडमिन्टन एशियाको आधिकारिक पेजमा उनको चर्चा भएको थियो।

त्यसपछि उनी विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा परेका हुन्।

सन् २०१९ मा त उनले दुबई इन्टरन्याश्नलमा च्याम्पियन बने, त्यो पनि भारतीय जुनियर नम्बर एक खेलाडीलाई पराजित गर्दै।

यो नै प्रिन्सले अहिलेसम्म जितेको ठूलो उपाधि हो।

यसले उनको वरीयतामा व्यापक सुधार भयो। प्रायोजकको साथ, आफ्नै खर्च, नेपाल ब्याडमिन्टन सङ्घ र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा उनले एकपछि अर्को गर्दै बीडब्ल्यूएफको आधिकारिक शृङ्खलाहरू खेल्ने मौका पाए।

त्यसले उनको वरीयतामा सुधार हुँदै आयो र गत वर्ष उनी शीर्ष ३ भित्र परे।

अनि यो समयमा उनलाई जति अवसर छ, शीर्ष वरीयता जोगाउन चुनौती पनि उत्तिकै देखिन्छ।

वरीयतामा कायम रहन विश्व ब्याडमिन्टन महासङ्घले निकाल्ने प्रतियोगिताको क्यालेन्डर र त्यो सँगै विश्वभरि हुने ब्याडमिन्टनको अन्तर्राष्ट्रिय शृङ्खलाहरूमा बढीभन्दा बढी सहभागिता जनाउनु अनिवार्य छ।

दोस्रो त्यस्ता प्रतियोगितामा राम्रो नतिजा निकाल्नुपर्छ।

गत वर्ष कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू स्थगित वा रद्द हुन पुग्दा उनले प्रतियोगिताहरू खेल्नै पाएनन्।

अहिले पनि स्थिति त्यस्तै हुने हो की भन्ने चिन्तामा प्रिन्स छन्।

आगामी प्रतियोगिताहरूको बारेमा पनि उनी बेखबर छन्।

उनी भन्छन्, ” ब्याडमिन्टन सङ्घले सहभागिताको लागि दर्ता गरे मात्र मैले खेल्न पाउने हो। नत्र त खेल्नै पाइन्न।”

प्रिन्सको सफलता नेपाली ब्याडमिन्टनको लागि ऐतिहासिक सफलता बताउने सङ्घका पदाधिकारीहरू भने वास्तविक चुनौती सङ्घमा थपिएको बताउँछन्।

नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ भन्छन्, “यो ब्याडमिन्टन सङ्घको लागि जति गर्वको विषय हो, त्यत्तिकै चुनौती पनि। प्रिन्सको वरीयता कायम राख्न अब सङ्घले काम गर्नेछ।”

अध्यक्ष श्रेष्ठका अनुसार प्रिन्स र महिला खेलाडी रसिला महर्जनले गत नोभेम्बर महिनादेखि नै एशियाली ब्याडमिन्टन महासङ्घको एउटा परियोजना ‘एशिया ओलिम्पिक परियोजना’ को छात्रवृत्ति चार वर्षको लागि पाइसकेका छन्।

त्यसअन्तर्गत उनीहरूले हरेक वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन ३,००० अमेरिकी डलर प्राप्त गर्छन्।

तर वरीयता जोगाउन त्यति रकम पर्याप्त हुने छैन। प्रिन्स माथिको लगानी अब उनले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको सङ्ख्या र देशअनुसार लाग्ने खर्चमा निर्भर हुनेछ।

त्यसको लागि के गर्ने? अध्यक्ष श्रेष्ठ भन्छन्, “पहिले त सङ्घले उनलाई सहभागिता गराउने खेल निर्धारण गर्नेछौँ। रह्यो खर्चको कुरा – त्यसमा प्रायोजक, सरकार, नेपाल ओलिम्पिक कमिटी देखि बीडब्ल्यूएफ सम्म गुहार्नेछौँ। उनको वरीयता कायम राख्न हामी भरमग्दुर प्रयास गर्नेछौँ।”

सङ्घले नसकेको कतिपय प्रतियोगितामा खेलाडीले व्यक्तिगत खर्चमा पनि सहभागिता जनाउन सक्छ। यो अन्तर्राष्ट्रिय अभ्यास नै हो।

प्रिन्सका मामा कमलेश निरौला भन्छन्, “भन्दा फिल्मी लाग्ला, उनलाई थाईल्यान्डमा प्रशिक्षणमा पठाउन हामीले खेत बेचेका थियौँ।”

“आवश्यक परेमा हामी शीर्ष वरीयता जोगाउन फेरि पनि प्रयास गर्नेछौँ।” – बीबीसी बाट साभार

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.