अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२२ मा वेस्ट इण्डिजमा आयोजना हुने यू-१९ पुरुष एकदिवसिय विश्वकपको छनोट खेलको रोडम्याप सार्वजनिक गरेको छ।

आईसीसीले विश्वभरका देशहरुलाई ६ क्षेत्रमा विभाजन गर्दै संसोधित तालिका सार्वजनिक गरेको हो। आईसीसीले २०२१ जनबरीदेखि सुरु हुने गरी यू-१९ विश्वकपका छनोट खेलहरुको तालिका घोषणा गरेको हो।

वेस्ट इण्डिजमा आयोजना हुने विश्वकपका १६ टिमहरुले सहभागिता जनाउने छन्। सन् २०२० को अत्यसम्म आईसीसी एकदिवसिय वरियातामा शीर्ष स्थानमा रहेका ११ टिमले सीधै विश्वकपमा स्थान बनाउने छन् भने बाँकी ५ स्थानका लागि विश्वभरका ३३ मुलुकहरुले प्रतिस्पर्धा गर्ने छन्।

वेस्ट ईण्डिजमा हुने १४औं संस्करणको यू-१९ विश्वकपमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इण्डिज र जिम्बाब्वे शीर्ष ११ मा रहँदै २०२२ यू-१९ विश्व कपका लागि छनोट भइसकेका छन्। टेष्ट टोली आयरल्यान्डले भने यूरोप छनोट खेल्नुपर्ने भएको छ।

नेपालीले विश्वकप खेल्न यूएईमा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्नुपर्नेछ। नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्ट इण्डिजमा हुने यू-१९ विश्वकप खेल्न पाउने छ।

एसिया छनोटमा नेपालसहित पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्। नेपाल, यूएई र मलेसियाले आइसीसी एसिया क्वालिफायरमा सीधै स्थान बनाएका छन्।

अन्य दुई टोली एसिया डिभिजन २ बाट छनोट भएर एसिया क्वालिफायरमा आउने छन्। भुटान, हङकङ, ओमान, कतार, साउदी अरबिया, सिंगापुर र थाइल्यान्डले एसिया डिभिजन-२ मा प्रतिस्पर्धा गर्ने छन्।

जसका शीर्ष दुई टोलीले एसिया छनोटमा खेल्ने छन्। उक्त छनोट भएर आउने दुई टोलीसँगै नेपाल, यूएई र मलेसियाले एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छन्। ५ टोलीमध्ये शीर्ष स्थानको एक टिम सन् २०२२ मा वेस्ट इण्डिजमा आयोजना हुने यू-१९ एकदिवसीय विश्वकपको छनोट हुनेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *