विनोद सिंह विष्ट, बैतडी – प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा आज बैतडी र अछाम भिड्दैछन् । यी दुुबैटोलीबिचको भिडन्त बिहान साढे ९ बजेदेखि कञ्चनपुरस्थित कभर्डहल मैदानमा हुने स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

बैतडी यसअघिको विजेता टोली हो भने अछाम उपविजेता टोली हो ।
यसअघिको पीएम कप छनौटको फाइनलमा पनि बैतडी र अछाम नै भिडेका थिए । जसमा बैतडी विजयी भएको थियो । दुुबैटोली उच्च मनोबलका साथ फाइनल जित्ने लक्ष्यमा रहेका छन् । बैतडी लगातार ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो भने अछाम २ खेल जित्दै रनरेटका आधारमा अघि रहदै फाइनल पुगेको हो ।

सुदूरपश्चिम प्रदेशका २ तराईका र ६ पहाडका जिल्लाका टोली सहभागी छनौटमा लगातार दुुबै टोली पहाडकै फाइनलमा पुुगेका छन् । पहाडका टोलीको यो प्रर्दशन निकै उत्कृष्ट रहेको नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताउनुभयो । पहाडमा खेलमैदान तथा अभ्यासको अभावबाट क्रिकेट खेल्दै आएका खेलाडीको यो प्रदर्शन निकै राम्रो रहेको उहाँको भनाई छ । खेलाडीको यो प्रदर्शनले पहाडी जिल्लाका भौतिक संरचना र विभिन्न प्रतियोगिता सञ्चालन गर्न सकेमा थुुप्रै प्रतिभा जन्मिने उहाँको दाबी रहेको छ ।


उक्त छनौट प्रतियोगितामा समापन समारोहमा आज नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थिती रहने जनाईएकोे छ ।
गत मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ ।प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही पुस ११ गतेबाट हुदैंछ । महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *