कञ्‍चनपुर — महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलबाट ठूला सवारीसाधन आउजाउ गर्न थालेसँगै ‘टापु’ का रूपमा रहेको कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्र पहिलोपल्ट सडक सञ्जालमा जोडिएको छ । महाकाली नदीपारिको क्षेत्र भएकाले यहाँ आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्थ्यो ।

बिरामी बोक्ने एम्बुलेन्सदेखि विवाहका गाडी तथा सुरक्षा निकायका गाडीसमेत लैजान सकिँदैनथ्यो । महाकाली नदीकै डुबान र कटानले यहाँ बर्सेनि ठूलो धनजनको क्षति पनि हुने गरेको छ ।

यसअघि पैदल यात्रु र दुईपांग्रे सवारीसाधनको आवागमन झन्डै डेढ किमि लामो झोलुंगे पुलबाट हुने गरे पनि चारपांग्रे सवारीसाधन भारतबाट मात्र सम्भव थियो । तर अब त्यो बाध्यता अन्त्य भएको छ । उक्त झोलुंगेभन्दा २ हजार २ सय मिटर उत्तरमा चार लेनको पक्की पुल निर्माण भइरहेको छ । ‘अब भारतीय सुरक्षाकर्मीको खुट्टा परेर आउजाउ गर्नुपर्ने दिन गए,’ दोधारा–चाँदनी नगरपालिका–१० का बलबहादुर ओलीले भने, ‘यो पुल हाम्रा लागि जीवन बनेर आएको छ ।’ उनी सोमबार भतिज मृगबहादुरको गाडीमा जन्ती लिएर निर्माणाधीन पक्की पुल भएर महाकालीवारि आउन पाए ।

दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको १ हजार ४ सय ९५ मिटर लामो झोलुंगे पुलले पनि निकै राहत दिएको थियो । व्यक्ति र दुईपांग्रे सवारीले महाकाली तर्न यही झोलुंगे बनेपछि मात्र सम्भव भएको थियो । उक्त क्षेत्रमा उत्पादन भएको तरकारी, दूध र खाद्यान्न झोलुंगे पुलकै बाटो भएर आउने गर्थ्यो । ‘झोलुंगे पुलले केही सहज भएको थियो, अब पक्की पुल बनेपछि झनै सजिलो भयो,’ दोधारा–चाँदनी नगरपालिका–९ का दिलबहादुर रावतले भने, ‘झोलुंगे पुलमा अत्यधिक भार हुँदा जीर्ण हुन लागेको छ, अब पक्की पुल बनेपछि लोड कम होला ।’

३ वर्षअघि निर्माण थालिएको पक्की पुलको काम ६० प्रतिशतभन्दा बढी सकिएको छ । पुलमा ३२ स्ल्याबमध्ये आधा राखिसकिएको छ । ३४ पिलरमध्ये ३० वटा बनिसकेका छन् । ‘वैशाखसम्म काम सक्ने लक्ष्य छ,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘पिलर र स्ल्याब हाल्ने काम सँगसँगै चलिरहेको छ ।’ ठेकेदारले आफ्नो सहजताका लागि ग्राभेल भरेर पुलमा आउजाउ गर्न मिल्ने बनाएकाले ठूला सवारी चल्न थालेका हुन् । महाकालीको पानी अहिले पुलमुनिबाट बग्छ । हिउँदमा पानीको सतह कम भएकाले पुलमा आउजाउ सहज भएको हो ।

पाण्डेयका अनुसार गत वर्ष भारतीय पक्षले तटबन्ध निर्माणका लागि महाकालीको पानी एकतर्फ मात्र छाड्दा बहाव बढी भई पुलको काम गर्न समस्या परेको थियो । लकडाउनका कारण केही समय काम बन्द हुन पुग्यो । अहिले तीव्र गतिमा काम भइरहेको उनले बताए । ८ सय मिटर लम्बाइको उक्त पुल र गड्डाचौकीदेखि दोधारा–चाँदनीको मलेरिया नालासम्म ६ लेनको ८ किमि पहुँचमार्ग निर्माणका लागि ३ वर्षभित्र सक्ने गरी २०७४ भदौमा ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । चार लेनको पुल र ६ लेनको बाटोलाई दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको छ । उक्त क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि विभिन्न अध्ययन भइरहेका छन् ।

‘हामीले दोधारा–चाँदनीमा बसोबास सुरु गर्दा महाकालीको बाढी बस्तीमा पसेका बखत रूखमा चढेर ज्यान जोगाएका हौं,’ दोधारा–चाँदनी नगरपालिका–९ का प्रेमबहादुर खड्काले भने, ‘बाढी पस्दा घर छाडेर भाग्नुपर्थ्यो, अग्लो ठाउँमा घर बनाउँथ्यौं ।’ महाकाली र जोगबुडा नदीमा तटबन्ध निर्माणपछि डुबान र कटानको समस्या कम भएको हो । जोगबुडामा अहिले पनि गुरुयोजनाअनुसार तटबन्धको काम जारी छ । ‘उहिले दोधारा–चाँदनी आउन कोही मान्दैनथे, आएका पनि पक्की घर बनाउन डराउँथे,’ रावतले भने, ‘बाढीले बगाउने हो कि भन्ने चिन्ता हुन्थ्यो ।’ अहिले त्यो चिन्ता छैन । नगर क्षेत्रभित्र पक्की सडक धमाधम निर्माण भइरहेका छन् । २० को दशकमा बस्ती विस्तार हुँदा यहाँ बाढी र कटानसँगै वन्यजन्तुको निकै त्रास थियो । यो क्षेत्र तरकारी र अन्न उत्पादनका लागि निकै उर्वर मानिन्छ । पक्की पुल निर्माणपछि यहाँको उत्पादन महेन्द्रनगरसम्म सहज ल्याउन सकिन्छ ।

झोलुंगे पुलसँगै पछिल्लो पटक निर्माण भइरहेको पक्की पुल र चर्चामा रहेको सुक्खा बन्दरगाहलगायतले यस क्षेत्रको आर्थिक र पर्यटन विकासको सम्भावनासमेत बढेको छ । साविकका दोधारा र चाँदनी गाविसलाई गाभेर बनाइएको नगरपालिकाको नाम सुरुमा महाकाली भनिए पनि पछि स्थानीयको मागअनुसार दोधारा–चाँदनी नै राखिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *