नेपालमा अहिले एक सिङ्गे गैँडाको कुल सङ्ख्या कति छ भनेर गणना भइरहेको छ। विश्वमा नै दुर्लभ मानिने एक सिङ्गे गैँडा गणना गर्नु सहज भने छैन।

करिब २ सय जना गणक प्राविधिकहरू र सुरक्षाकर्मीहरू बिहान ५ बजे नै खाजा खाएर हात्तीमा चढेर गैँडा गणना गर्न जङ्गल जान्छन्, फर्कने समयको निधो हुँदैन। खाजाको पोको र पानी दिइएको हुन्छ टन्टलापुर घाममा गैँडा गणनामा गएकाहरूलाई गर्मीले गर्दा खाजा खाने जाँगर पनि नचल्ने गणकहरूले बताएका छन्।

तस्बिर : बीबीसी

गणकहरूले फेला परेको गैँडाको विवरण सङ्कलन गर्न उक्त गैँडालाई पछि पार्दै अगाडि बढ्छन्। उनीहरूलाई दिइएको फाराममा फेला परेको गैँडाको विवरण भर्दै जान्छन्।

यस पटकको गैँडा गणना यस अघिकै विधि र प्रविधिबाट गरिएको गणक तथा पूर्व सहायक वार्डेन वेद खड्काले बताए। नपालमा वर्तमान अवस्थामा कति गैँडा छ भन्ने यथार्थ स्थिति पत्ता लगाउन प्रत्येक ५।५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ तर कोरोनाभाइरस महामारीका कारण गत चैतमा गर्ने भनिएको गैँडा गणना यसपटक गरिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले बताए।

गैँडा गणनाको लागि ठूलो जनशक्ति र ठूलो धनराशि खर्च हुने बताइएको छ। धेरै हात्ती परिचालन गर्नु पर्ने भएकोले गैँडा गणना गर्न कठिन हुने उनले बताए।

गैँडा गणनाको लागि नेपाल सरकारले ८० लाख रुपैयाँ र विश्व वन्यजन्तु कोष नेपाल र जेडएसएल नेपालको सहयोग गरी १ करोड १० लाख रुपैयाँ छुट्टाइएको छ।

४० वटा हात्तीमा जङ्गल छिर्ने गणकहरूले गैँडाको विवरण लिनुका साथै गैँडाको वासस्थान घाँसे मैदान र सिमसार क्षेत्रहरूको अवस्थाबारे पनि अनुगमन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले बताए। त्यही अनुगमनको आधारमा वन मन्त्रालयले गैँडा संरक्षणको रणनीति बनाउने उनले बताए।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना बर्दिया र शुक्लाफाँटामा पनि सुरु गरिएको छ। चैतको अन्त सम्ममा गैँडा गणना सम्पन्न गरेर वैशाखको पहिलो सातामा गणनाको नतिजा सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खरालले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्षमा १ सय ६१ वटा गैँडा मरेको तथ्याङ्क छ। जसमध्ये ६ वटा चोरी शिकारीका कारण मारिएका छन् भने अन्य विभिन्न कारणले मरेका छन्।

अहिले भइरहेको गणनाले गैँडाको अवस्था वास्तवमा कस्तो छ भन्ने पत्ता लाग्ने अधिकारीहरूले बताएका छन्।

कहाँ कति गैँडा

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए। तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ। यसै गरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको तथ्याङ्क निकुञ्जसँग छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *