काठमाडौं – नेपाली सेनाले नेपालमा रहेका ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुबारे अध्ययन, अनुसन्धान तथा तिनीहरुको संरक्षण गर्ने भएको छ । यसका लागि सेनाले सम्बद्ध पक्षहरुसँग छलफल, समन्वय एवं सहकार्य गर्दै आएको जनाएको छ ।

प्रधान सेनापतिको निर्देशनअनुसार स्थानीय निकायको समन्वयमा त्यहाँ तैनाथ पृतना, बाहिनी, गण र गुल्मले विभिन्न तवरबाट सुरक्षा प्रदान गर्दै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण केही प्रभावित भए पनि यसलाई पूरा गर्न सेनाका सम्बद्ध निकायहरुबाट विभिन्‍न प्रयास भइरहेको निर्देशनालयले जनाएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सेनाले ऐतिहासिक एवं एकीकरण अभियानमा प्रयोग भएका गढी र किल्ला र युद्धस्थलहरुको स्थलगत भ्रमण गरी प्रोफाइल पनि तयार पारेको जनाएको छ । यस्तै, नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखादेखि काठमाडौंसम्मको ऐतिहासिक पदमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन र बृहत्तर सिन्धुलीगढी पर्यटकीय क्षेत्र विकास गुरुयोजनाको प्रतिवेदन तयार पारेको छ ।

गोरखादेखि काठमाडौंसम्म एकीकरणको दौरान प्रयोग भएको मार्गमा सेनाका प्रथम ६ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) को झन्डा समावेश गरी टर्चसहित एकीकरण पदयात्रा सम्पन्न गरिएको थियो । यस्तै सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अघि बढाइएको थियो ।

त्यसैगरी काभ्रेको पनौती नगरपालिकास्थित शारदाकोटमा पृथ्वी गढी भ्यु प्वाइन्ट निर्माण तथा बलभद्र कुँवर पार्क निर्माण एवं पाल्पा दरबार सैनिक संग्रहालयमा ऐतिहासिक शस्त्र-अस्त्र कक्षको निर्माण पनि पूरा भएको सेनाले जनाएको छ । निर्देशनालयका अनुसार बारामा एकीकरण स्मृति उद्यान निर्माण कार्य सुरु गरेको थियो ।

यी सबै कामका लागि चालु आर्थिक वर्षमा चार करोड ९९ लाख ६९ हजार विनियोजन भएको पनि सेनाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *