के चीनले क्याप्टन अमेरिकाको आफ्नै संस्करण बनाउने प्रयत्न गरिरहेको छ? अमेरिकी गुप्तचरीले त्यस्तै भनेको छ। तर बढाइचढाइभन्दा पर गएर भन्नुपर्दा सुपर सेनाको सम्भावना अस्वाभाविक छैन र त्यसमा चीन मात्रै इच्छुक होइन।

खर्च गर्नका लागि यथेष्ट पैसा भएका देशहरूले सैन्य क्षमतामा अगाडि बढ्न प्रविधिको प्रयोग गर्ने गरेका छन्।

डक्ट टेप लिनुहोस्। यो अमेरिकाको इलिनोयस्थित हातहतियार बनाउने एउटा कारखानाकी कामदारको सुझावको परिणाम हो।

भेस्टा स्टाउड्टका छोराहरू द्वितीय विश्वयुद्धका बेला अमेरिकी नवसेनामा कार्यरत थिए। पातलो टेपले उनीहरूको लुगा भिज्ने पीरले उनले पानीले नभिज्ने टेप बनाइन्।

उनले आफ्ना सुपरभाइजरहरूको साथ पाइनन्, तर राष्ट्रपतिलाई पत्र लेखेपछि उनी सफल भइन्। राष्ट्रपतिले उनको परिकल्पनालाई वास्तविकतामा बदल्न निर्देशन दिए।

यदि सैन्य आवश्यकताले हामीलाई राम्रो टेप दिन सक्छ भने यसले अरू के गर्न सक्छ?

सन् २०१४ मा तत्कालीन राष्ट्रपति अमेरिकी बाराक ओबामाले पत्रकारहरूलाई भनेः “खासमा हामीले आइरनम्यान बनाउन लागेको घोषणा गर्न म यहाँ उपस्थित भएको हुँ।” उनको कुरा सुनेर त्यहाँ हाँसो गुन्जियो।

तर राष्ट्रपति ओबामा गम्भीर थिएः ट्याक्टिकल एसल्ट लाइट अपरेटर सुट अर्थात्‌ टेलोस भनिने एउटा रक्षात्मक पोशाक बनाउने योजनामाथि अमेरिकी सेनाले काम थालिसकेको थियो।

भिडिओ गेमजस्तै लाग्ने एउटा प्रवर्द्धनात्मक भिडिओमा त्यो पोशाक लगाएका व्यक्ति शत्रुको एउटा जेलमाथि धावा बोल्दै गरेको र उनीमाथि चलाइएका गोली फर्कने गरेको देखियो।

आइरनम्यान बनेन। पाँच वर्ष भयो, त्यो प्रयास सकियो। तर पोशाकका निर्माताहरू त्यसमा प्रयोग भएका सामग्री अन्यत्र पनि काम लाग्न सक्ने विश्वास गर्छन्।

सेनाहरूले क्षमता सुदृढीकरणका लागि खोजी गरिरहेका केही विश्वासलाग्दा प्रविधिमध्ये ‘एक्सोस्क्लेटन’ एउटा हो।

सुदृढीकरण गर्ने कुरा नयाँ होइन। प्राचीन समयदेखि नै अस्त्र, उपकरण तथा प्रशिक्षणको दिशामा प्रगतिहरू हासिल गर्दै सैन्य क्षमता सुदृढ गरिएको पाइन्छ।

तर वर्तमान समयमा सैन्य सुदृढीकरणको अर्थ प्रत्येक सैनिकलाई राम्रा बन्दुक उपलब्ध गराउनुभन्दा धेरै बढी कुरा हुन्छ।

त्यसको अर्थ प्रत्येक सैनिकको अवस्थामा परिवर्तन ल्याउनु भन्ने हुन्छ।

सन् २०१७ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मानव जातिले चाँडै “परमाणु बमभन्दा पनि नराम्रो कुराको विकास गर्न सक्ने” चेतावनी दिएका थिए।

गत वर्ष अमेरिकी न्याश्नल इन्टेलिजेन्सका पूर्वनिर्देशक जोन र्‍याटक्लिफले त्योभन्दा पनि अगाडि बढेर चीनमाथि कडा आरोप लगाए।

“जैविक रूपमा सुदृढ क्षमता सहितका सेनाको विकास गर्ने आशामा चीनले पिपुल्स लिबरेशन आर्मीका सदस्यहरूमाथि मानव परीक्षण पनि गरेको छ। शक्ति आर्जन गर्ने चाहना सामु बेइजिङ्गका लागि कुनै नैतिक सीमाहरू छैनन्,” द वाल स्ट्रीट जर्नलमा उनले लेखेका थिए।

चीनले त्यसलाई “झूटा कुराहरूको सङ्ग्रह” को सङ्ज्ञा दियो।

महत्त्वाकाङ्क्षा र वास्तविकता

रोलक्रमभित्र एक सुपर सैनिक खोज्नु सेनाहरूका लागि एउटा कष्टकर परिदृश्य हुन सक्छ। एउटा यस्तो सैनिकको परिकल्पना गर्नुहोस् जसले पीडाहरू खेप्न सक्छ। अति चिसोमा उसलाई केही हुँदैन, उसलाई निद्रा चाहिँदैन।

तर आइरनम्यान बनाउने अमेरिकी प्रयासहरू जस्तै प्रविधिको सीमितताले त्यस्तो महत्त्वाकाङ्क्षालाई पूरा हुन दिँदैन।

जीनमा सम्पादन गर्ने, एक्सोस्क्लेटन र मानव-यन्त्र बीचको सहकार्य जस्ता प्रविधिको चीनले “सक्रियतापूर्वक खोजी” गरिरहेको दाबी सन् २०१९ मा दुई अमेरिकी प्राज्ञहरूको एउटा प्रतिवेदनमा गरिएको थियो।

मुख्यतया चिनियाँ सैन्य रणनीतिकारहरूका टिप्पणीमा आधारित भई त्यो प्रतिवेदन तयार पारिएको थियो।

सन् २०१८ मा चिनियाँ वैज्ञानिक ख जिएन्क्वेले संसारमा पहिलोचोटि जिन सम्पादन गरेर बच्चा विकसित गरेको घोषणा गरे।

हङ्‌कङमा आयोजित जिनोम सम्मेलनमा बोल्दै उनले एचआईभी लाग्न नसक्ने गरी दुई जुम्ल्याहा बालिकाको जिन सम्पादन गरेकोमा आफूलाई ‘गर्व’ लागेको पनि बताए।

धेरै वैज्ञानिकले उनको त्यस्तो घोषणाको निन्दा गरे भने एक जनाले त्यसलाई ‘दानवीय’ कार्यकै सङ्ज्ञा दिए।

चीनसहित अधिकांश देशमा जिन सम्पादन अर्थात् मानव वंशाणुमा परिवर्तन गरी परीक्षण गर्ने कार्य प्रतिबन्धित छ।

हुन त ती वैज्ञानिकले आफ्नो नतिजाको बचाउ गरे। तर सरकारी प्रतिबन्धको अवज्ञा गरेको अभियोगमा उनले जेलसजाय पाए।

प्राध्यापक खले आफूले जिन सम्पादन गर्न प्रयोग गरेको दाबी गरेको ‘क्रिस्पर’ नामक टुल सन् २०१२ मा विकसित गरिएको थियो।

यो प्रक्रियाअनुसार ‘मलेक्युलर सिजर्ज’ अर्थात् ‘आणविक कैँची’ प्रयोग गरेर डीएनएको निर्दिष्ट त्यान्द्रो काटी त्यसको स्थानमा अर्को टुक्रा राखिदिएर अथवा केही मिलाएर परिवर्तन गर्न सकिन्छ।

जिन सम्पादनबाट भ्रूणमा समस्याग्रस्त भाग काटेर वा फेरेर वंशानुगत रोग रोक्न सकिन्छ।

चीन र अमेरिकाले मात्र फाइदा लिन खोजिरहेका छैनन्। फ्रान्सको सशस्त्र फौजले पनि “इन्ह्यान्सड् सोल्जर्स” को विकासका लागि अनुमति दिइसकेको छ।

अनुसन्धानका लागि एउटा प्रतिवेदनले नैतिक सीमाहरू समेत तय गरिसकेको छ।

चीन र रुस दुवै मुलुकले कोभिड खोपको परीक्षण आफ्ना सेनामाथि गरेको बताइन्छ।

“सैन्य संस्था सैनिकहरूको स्वार्थको प्रवर्द्धनका लागि हुँदैन। त्यो रणनीतिक फाइदा पुर्‍याउनका निम्ति अथवा युद्ध जित्नका लागि हुन्छ,” अक्सफर्ड विश्वविद्यालयस्थित नैतिक विषयका ज्ञाता प्राध्यापक जुलिअन साभुलेस्कुले भन्छन्।

क्याप्टन अमेरिका अहिले कुनाको आसपास नहुन सक्छन्। तर आश्चर्यको विकासको सम्भावना सधैँ हुन्छ। – बीबीसी

Leave a comment

Your email address will not be published. Required fields are marked *