टाइटानिक पानीजहाज भित्रको बिना तार सन्देश प्रवाह गर्ने रेडियो सञ्चार प्रणाली निकाल्ने वा समुद्रको पीँधमा रहेका मानव अवशेषलाई शान्त रहन दिने भन्ने विषयको कानुनी लडाइ जारी छ।

यो पानीजहाज १०० वर्षभन्दा पहिला डुबेको थियो। तैपनि यसका भग्नावशेष सदाबहार प्रतीकका रूपमा रहेका छन्। पानीमुनि रहेका १५ सय शवहरूलाई त्यत्तिकै रहन दिने वा उक्त दुखद् घटनामा महत्त्वपूर्ण भूमिका खेलेको मानव निर्मित वस्तुलाई पुन: प्राप्त गर्ने भन्ने एउटा ताजा बहस अहिले चर्किरहेको छ।

उत्तर एटलान्टिक महासागरको पीँधमा रहेका हजारौँ त्यस्ता मानव निर्मित सामान निकालेको एउटा अमेरिकी कम्पनीले आफ्ना योजनाहरू घोषणा गरेपछि उक्त विवाद निम्तिएको हो।

आरएमएस टाइटानिक इङ्क. मार्कोनी नामक बिना तार सन्देश प्रवाह गर्ने टेलिग्राफ मेसिन समुद्रबाट निकाल्न चाहन्छ जसले सन् १९१२ एप्रिल १५ तारिख सबेरै डुबिरहेको पानीजहाजबाट सङ्कटको जनाउ दिँदै सन्देश पठाएको थियो। त्यस्तो जनाउले करिब ७ सय मानिसको ज्यान जोगाएको थियो।

तर अमेरिकी सरकारले भने उक्त कम्पनीको योजनाको विरोध गरिरहेको छ। त्यस्तो कार्यले सङ्घीय कानुन तोड्ने र भग्नावशेषलाई स्मृतिस्थल भनि पहिचान गर्न अन्तर्राष्ट्रिय रूपमा जनाइएको सहमतिको अनादर गर्ने अमेरिकी सरकारले बताएको हो।

सन् १९१२ मा साउथह्याम्पटन, इङ्गल्यान्डबाट न्यूयोर्क जाँदै गर्दा टाइटानिक पानीजहाज राति ११:४० मा एउटा विशाल हिमशिलामा ठोक्किएको थियो। जहाजको अगाडिको भाग ठोक्किएर परेका प्वालहरूबाट हजारौँ टन समुद्री पानी पानीजहाज भित्र पसेको थियो।

पानीजहाजको नमुना तयार पार्ने टोमस एन्ड्र्युज पनि त्यसैमा सवार थिए। पानीजहाजमा पुगेको क्षति हेरेपछि उनले क्याप्टेनलाई पानीजहाज डुब्न लागेको बताएका थिए।

‘पानीजहाज टाउकोपट्टिबाट डुब्दैछ’ 

बिहान १२:१५ मा पानीजहाजभित्रको मारकोनी प्रणालीले सङ्कटको सङ्केत जनाउने आवाज निकाल्यो। पानीजहाज र जमिनमा रहेका सञ्चालकहरूबीच ताररहित सञ्जाललाई सक्रिय बनाएर एकअर्कासँग सम्पर्क भएपछि त्यस्तो सङ्कटको जनाउ दिइएको थियो।

उनीहरूले त्यतिबेला – अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएका सङ्कटको सङ्केत दिने ध्वनी सर्टवेब रेडियोमार्फत प्रसारण गरेका थिए जसलाई मर्ज कोड पनि भनिन्छ।

“हामी रहेको पानीजहाज विशाल हिमशिलामा ठोक्किएको छ। तत्कालै उद्धारका लागि आउनुहोस्,” टाइटानिकका अपरेटर ज्याक फिलिप्सले अर्को पानीजहाज, कार्पथियालाई बोलाएका थिए। र, फ्र्याङ्कफर्टमा, जर्मन पानीजहाजलाई भनेका थिए, “हामी हिमशिलामा ठोक्किएका छौँ र टाउकोपट्टिबाट पानीजहाज डुब्दैछ।”

केही इतिहासविद्हरू प्रश्न गरिएको पानीजहाज फ्र्याङ्कफर्टको रहेको र दुई पानी जहाजबीचको सन्देश आदानप्रदान गलत बुझिएको बताउँछन्। ज्याक फिलिप्सले अर्को सन्देश दिए, “हामी साना डुङ्गाहरूमा यात्रुहरूलाई राख्दैछौँ। महिला र बालबालिकाहरू ती डुङ्गाहरूमा छन्। धेरैबेर टिक्न सक्दैन।”

र, अर्को थियो, “यो टाइटानिक हो… इन्जीन रहेको कोठा पानीले डुब्यो।” जीवन बचाउनका लागि साना डुङ्गाहरू पानीजहाजबाट झार्दै गर्दा ती अपरेटरले निरन्तर रूपमा सन्देश दिइरहे। डुङ्गामा आफ्ना छोराछोरी र श्रीमती झरिरहँदा श्रीमान्‌हरूले बिदाइका अन्तिम हात हल्लाए।

उक्त घटनामा ज्याक फिलिप्स बाँचेनन्। उनका क्याप्टेनले उनलाई ड्यूटी गर्न नपर्ने बताए पनि उनी काममै बसे र उनको नायकत्वले टाइटानिकको दु:खपूर्ण घटनामा एउटा महत्त्वपूर्ण भूमिका खेल्यो। पानीजहाजले दिएको सन्देशले अन्य पानीजहाजहरूमा आतङ्क र अविश्वासको स्थिति बन्यो।

विशाल र सुविधायुक्त उक्त पानीजहाजमा बिहान २:१० माअन्धकार भयो र मार्कोनी पनि बन्द भयो। पानीजहाजको अग्रभाग महासागरको पानीमुनी डुबिसकेको थियो र पछिल्लो भाग माथितिर गएको थियो। करिब २:२० तिर पानीजहाज दुई टुक्रा भयो र दुवै भाग एट्लान्टिक महासागरमा डुब्न थाल्यो।

डुब्न थालेको दुई घण्टाभन्दा कम समयमा महासागरको उक्त स्थलमा कार्पथिया आइपुग्यो र ७ सय जीवित मानिसको उद्धार गर्‍यो। उद्धार गरिएका ती मानिसहरू डुङ्गामा उत्रिन सफल भएका थिए।

उक्त घटनामा करिब १,५०० मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ।

‘मानव चिहान’ 

आरएमएस टाइटानिकले भग्नावशेषबाट मानव निर्मित ५,५०० भन्दा बढी सामानहरू निकालिसकेको छ। पानीजहाजको भग्नावशेष क्यानडाको न्यूफाउन्डल्यान्डबाट ७४० किलोमिटरको दुरीमा सन् १९८५ मा फेला परेको थियो।

पानीजहाजको अगाडि र पछाडिको भाग पानीको सतहभन्दा ४,००० मिटर तल भेटिएको थियो। र, त्यो ठ्याक्कै त्यही ठाउँ हो जहाँ एक शताब्दीभन्दा अगाडि पानीजहाज डुबेको थियो।

सन् १९८७ यता आरएमएस टाइटानिक इङ्क. ले ५,५०० भन्दा बढी मानवनिर्मित सुनका सिक्कालगायतका सामानहरू निकालिसकेको छ र आठवटा ठूलो स्तरका अनुसन्धानहरू पनि गरिसकेको छ।

तर गत वर्ष, समुद्रको गहिराइमा पुगेको अन्तर्राष्ट्रिय टोलीले झण्डै १५ वर्षमा पहिलोपटक भग्नावशेषको सर्वेक्षण गरे। उनीहरूका अनुसार तीमध्ये केही एकदमै तीव्र गतिमा बिग्रिन थालेका छन्।

त्यसपछि, यो वर्षको सुरुमा आरएमएस टाइटानिक इङ्क. ले सन् २०२१ को ग्रीष्म ऋतुसम्म पानीमुनि रोबोटको सहायताले मारकोनी ताररहित प्रणालीलाई बाहिर निकाल्ने योजनाहरू घोषणा गरेको थियो।

उक्त घोषणापछि मुद्दा पर्‍यो र अहिले त्यो मुद्दा अमेरिकी राज्य भर्जिनियामा विचाराधीन छ। एक न्यायाधीशले उक्त अभियानलाई सुरुमा अधिकार दिएका थिए। उनले त्यस्तो प्रणालीलाई समुद्रबाट निकालेर अध्ययन गर्दा त्यसले टाइटानिकको मेटिनै नसकिने क्षतिको विरासतमा योगदान पुर्‍याउने बताएका थिए।

तर अमेरिकाका सङ्घीय वकिलहरूले भने ती योजनाहरू गैरकानुनी हुने तर्क गरेका छन्। गत वर्ष, अमेरिका र यूकेले यात्रु र चालकदलका गरी १५ सयभन्दा बढी यात्रुको शव रहेको ठाउँको संरक्षण र सम्मान गरिनुपर्ने भन्दै त्यसको प्रत्याभूतिका लागि सरकारहरूलाई थप अधिकार प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

एकजना सल्लाहकारले उक्त क्षेत्रमा मानव शव हुने सम्भावना नरहेको तर्क गरेका छन्।

तर सार्वजनिक सरोकारको रूपमा यो मुद्दामा चासो राख्ने अमेरिकाको न्याश्नल ओसनिक एन्ड एटमस्फियर एडमिनिस्ट्रेशन (एनओएए), ले यो अभियानले पानीजहाजभित्र रहेका मानव अवशेषहरूमा बाधा पुर्‍याउन सक्ने जनाएको छ।

“पानीजहाज महासागरमा डुबे पनि अघिल्लो भाग अहिलेको बाहिरी वातावरणमा नदेखिएको हुनसक्छ,” एनओएएले भनेको छ। “यस्तो खालको कम तापक्रम, स्थीर पानी, अक्सिजन कम भएको पानीको सतहहरूको अलग्गै रहेको वातावरणले जैविक तत्त्वहरूलाई शताब्दीऔँसम्म जोगाएर राख्ने ठानिन्छ।”

आरएमएस टाइटानिक इङ्क.का अध्यक्ष ब्रेटन हुनसाकले “इतिहासको अविश्वसनीय वस्तु निकाल्न” समय घर्किँदै गएको भन्दै आफ्नो अभियानको बनाउ गरे।

“टाइटानिको भग्नावशेषभित्र र वरपर रहेका थुप्रै सामग्रीहरूहरूले यात्रुको जीवनबारे पुस्तौँसम्म चकित पार्ने क्षमता राखे पनि, एउटै सामानले सबै जीवितहरूको कथा बोकेको छ,” उनले भने।

“अन्तत: मारकोनी रेडियो प्रणाली एउटा गुमनाम नायक बनेको छ, जसले सङ्कटको समयमा आफ्ना पुर्खाहरूको क्रन्दनको सन्देश दिएर उनीहरूका परिवारको पुस्तौँ जोगाएको छ।”

Leave a comment

Your email address will not be published. Required fields are marked *